कीर्तिपुरको खेलकुद विकासमा स्थानीय क्लबहरुको भूमिका

- प्रा.डा. रामकृष्ण महर्जन

खेलकुद विकासको लहर कीर्तिपुरमा ढिलै आए तापनि अहिले आएर यस क्षेत्रका मानिसहरूले हात हालेको खेलहरूमा आफ्ना प्रभुत्वलाई कायमै गरेको पाइन्छ । करीब चार पाँच दशक अगाडि ताका यस भेगका गिनेचुनेका व्यक्तिहरूले फुटबल खेल्ने गरेको पाइन्छ । कहिँ आकल झुकल ब्याडमिन्टन पनि मनोरञ्जनको दृष्टिकोणले खेल्ने गरेको देखिन्छ । टेबलटेनिस भने वि. सं. २०२५ तिर मात्र कीर्तिपुरमा प्रवेश गरेको देखिन्छ भने वि. सं. २०३० तिर आएर भलिबल खेल पनि खेल्न थालियो । बुद्धिचाल, बाघचाल, एथ्लेटिक्स भने पहिलेदेखि नै खेल्ने गरेको देखिन्छ ।

कीर्तिपुर क्षेत्रमा प्रवेश गरेका खेलहरूलाई निरन्तर अभ्यास गराउन स्थानीय क्लबहरूको भूमिकालाई महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । सुरुसुरुमा क्लबमा सदस्यता लिनु नै खेलको अभ्यास गर्न, खेल प्रतियोगितामा भाग लिन र खेलकुद प्रतियोगिता आयोजना गर्नु आदिको लागि हुन्थ्यो । विभिन्न क्लबहरूले स्थानीय तवरमा भए पनि खेलकुद प्रतियोगिताको आयोजना गरेर खेललाई लोकप्रिय बनाएको देखिन्छ । तर स्थापना भएका विभिन्न क्लबहरूमा स्थायीत्व नआउनाका कारण बीचबीचमा खेल अभ्यासलाई निरन्तरता दिने प्रक्रियामा अड्चन आएको देखिन्छ ।

यहाँका स्थानीय क्लबहरूको स्थापना आ-आफ्नै उद्देश्यले भएका हुन्छन् । कुनैकुनै क्लब खास खेलमा मात्र केन्द्रित छन् भने कुनैकुनै क्लब एकभन्दा बढी खेलहरूलाई महइभ्व दिएर अगाडि बढेको देखिन्छ । त्यस्तै खेल आयोजनामा पनि कुनैकुनै क्लबले निरन्तर एउटै खेल मात्र चलाएको पाइन्छ त कुनैकुनै क्लबले एकभन्दा बढी खेल प्रतियोगिताको आयोजना गरेको देखिन्छ । कुनैकुनै क्लबले त खेलकुदमा भन्दा सामाजिक सेवामा समर्पित भएर पनि आफूलाई अगाडि बढाएको पाइन्छ ।

विभिन्न खेलहरू विकास गर्न राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत विभिन्न राष्ट्रिय सङ्घहरू कार्यरत छन् । तर ती राष्ट्रिय सङ्घहरू समुदायमा पुग्न सकेका छैनन्। त्यति मात्र नभई विभिन्न जिल्लाहरूमा गठन गरिएका जिल्ला स्तरीय खेलकुद समितिहरूले पनि गाउँका कुना काप्चा भ्याउन सकेका छैनन् । कीर्तिपुर क्षेत्रको सवालमा राष्ट्रिय सङघ् को पहुँच नहनु लार्इ  आश्चर्य  मान्नु पर्ने देखिंदैन । कीर्तिपुर क्षत्रे काठमाडौं जिल्ला अन्तर्गत  पर्न नै यहाँको दुर्भाग्य हुनु पर्छ कि यहाँ अन्य क्षेत्रको भन्दा राम्रो प्रतिभा भएका खेलाडी भएर पनि राष्ट्रिय स्तरको खेलमा छनौट हुन सक्दैनन् । साथै काठमाडौं जिल्लामा बढी जनघनत्व भएको कारण पनि राष्टिय्र सङ्घमा कार्यरत सीमित पदाधिकारीहरू सबै ठाउँमा पुग्न सकेका छैनन् । वास्तवमा भन्ने हो भने यहाँका खेल जगतमा लाग्ने केन्द्रिय पदाधिकारीहरूले खेलाडी छनौटका आधारभूत सिद्धान्तलाई पनि वास्ता गरेको देखिंदैन ।

यी विभिन्न समस्याहरूको वावजुद पनि कीर्तिपुरका स्थानीय क्लबहरूले भलिबल, टेबलटेनिस, बास्केटबल, बुद्धिचाल, बाघचाल, मार्शल आर्टस्, एथ्लेटिक्स, आदि खेलहरूको प्रतियोगिता सञ्चालन गरी यस भेगबाट राष्ट्रिय खेलाडीहरूको पहिचान गराउने काम गरेका छन् । विद्यालय स्तरका खेलाडीहरूलाई उत्कृष्ट बनाउने काममा यहाँका क्लबहरूकै योगदान भएको कुरालाई मान्नु पर्छ । यहाँको परिवेशमा जति धेरै खेल प्रतियोगिता सञ्चालन हुन्छ खेलाडीहरूले खेल अभ्यास पनि त्यतिकै अनुपातमा धेरै गर्छन् र अनुभवहरू बटुल्छन् । फलतः उनीहरूको खेल स्तरमा बृद्धि भएर गइरहेको हुन्छ । जिल्ला स्तरीय र राष्ट्रिय स्तरको खेल प्रतियोगिताको पहुँच नभएका कीर्तिपुरमा स्थानीय क्लबहरूले सञ्चालन गरका प्रतियोगितामा प्रदर्शन गरिएका सीपको आधारमा राष्ट्रिय प्रशिक्षकहरूलाई यस क्षेत्रको खेल प्रतिमा बारे सोच्न बाध्य बनाएका छन् ।

यसरी विभिन्न क्लबहरूले गरका योगदानलार्इ  सराहना गर्दे त्यसलाई निरन्तरता दिन सुरुमा क्लबहरूलाई स्थायीत्व बनाउने काममै ध्यान केन्द्रीत गर्नु आजको खाँचो हो । हामीलार्इ थाहा छ कि कीर्तिपुर भेगमा धेरै क्लबहरू खोलिए, उत्कृष्ट कामहरू पनि गरे तर ती क्रियाकलापमा भने स्थायीत्व देखिएन । क्लबहरूको क्रियाकलापलाई स्थायीत्व दिनको लागि कीर्तिपुर नगरपालिका स्तरमै एउटा क्लब समन्वय समिति गठन हनु आवश्यक देखिन्छ । उक्त समितिले विभिन्न क्लबहरूका प्रतिनिधिलाई समेटेर क्लबहरूलाई स्थायीत्व दिने कार्यको अभ्यास गर्नु पर्ने देखिन्छ । यसको लागि समितिले क्लबका सदस्यहरूलाई क्लब व्यवस्थापनसम्बन्धी समसामयिक विषयमा तालिम सञ्चालन गर्ने, गोष्ठी सञ्चालन गर्ने, एक आपसमा अन्तरक्रिया गर्ने जस्ता क्रियाकलाप गर्नु पर्ने देखिन्छ । यसको साथै प्रतियोगिता आयोजनाको पनि वाषिर्क तालिका नै बनाई सम्बन्धित क्लबको इच्छा र योग्यता हेरी कामको जिम्मा दिन सकेमा सरल ढङ्गबाट कार्यहरू सम्पादन गर्न सक्ने हुन्छ । यसको लागि सबै क्लबहरू मिलेर यहाँका क्लबहरूको अभूतपूर्व योगदानलाई कदर गराउन कीर्तिपुर नगरपालिकालार्इ  घच्घच्याउनु पर्ने देखिन्छ । कीर्तिपुर नगरपालिकाको पहलमा समितिलाई अगाडि बढाउन सकेमा क्लबका क्रियाकलापलाई निरन्तरता दिन सक्ने देखिन्छ।

खेल बिकास गर्ने प्रक्रियाको कुरा ग  विद्यालय गर्दा खलेकदुलाई पनि सँगै अगाडि लग्नुपर्छ । किन कि वास्तविक खेलाडीहरूको स्रोत भनेकै विद्यालयका कलिला विद्यार्थीहरू हुन् । विद्यार्थीहरूलाई सानै उमेरदेखि नै खेलप्रति रुचि जगाउन विद्यालय खेलकुदमा जोड दिनुपर्छ । विद्यालयमा विभिन्न खेलहरू खेल्ने अवसरहरू दिनुपर्छ ता कि विद्यार्थीको झुकाउ कुन खेलमा छ भनी पत्ता लाउन सजिलो होस् । यसको लागि प्राथमिक तहका बालबालिकाहरूलाई विशेषगरेर उनीहरूका क्रियात्मक सीप (Motor Skill) विकास गर्ने क्रियाकलापमा जोड दिनुपर्छ । उमेर बढ्दै गएर परिपक्वता आउन थालेपछि बिस्तारै विभिन्न खेलहरूको सीप सिकाउनुपर्छ । लगभग माध्यमिक तहसम्म पुगेपछि उनीहरूको झुकाउ कुन खेलमा छ र उनीहरूले कुन खेलमा आफ्नो प्रतिभा देखाउन सक्छन् भनी ठम्याउन सक्ने हुन्छ । यी क्रियाकलापहरूमा पनि सम्बन्धित विद्यालयहरूले स्थानीय क्लबहरूको सहयोग लिन सक्छन् ।

खेल अभ्यासको लागि खेल्ने ठाउँको आवश्यकता पर्छ जुन धेरैजसो विद्यालय र क्लबहरूमा उपलब्ध छैनन् । यसको लागि पनि यस भेगमा साझा खेल्ने ठाउँको विकास गर्नुपर्ने देखिन्छ । उदाहरणको लागि कुनै विद्यालयमा उपलब्ध भएको खेल सुविधालाई उक्त विद्यालयको क्रियाकलापमा बाधा नपर्ने गरी कसरी अधिकतम रूपमा उपयोग गर्ने र त्यसवापत विद्यालयसँग कस्तो सम्झौता गर्ने भन्ने करा पनि सोच्नु आवश्यक भइसकेको छ । यीबाहेक कुनै सार्वजनिक अथवा निजी जगालाई सबै मिलेर कुन शर्तमा प्रयोग गर्ने भनी योजना गर्नुपर्ने बेला पनि ढिलो भइसकेको छ । खेल सुविधा उपलब्ध भएपछि स्वाभाविक रूपमा खेल स्तर बढ्छ भन्ने तथ्य विभिन्न अध्ययनले पनि प्रमाणित गरिसकेको छ । यसरी खेल अभ्यास गर्ने वातावरणको सुनिश्चित गर्न सक्यौं भने यस क्षेत्रमा कार्यरत क्लबहरूको सही क्षमता देख्न पाउने आशा गर्न सकिन्छ ।

Naya Bazar Club, Kirtipur-3, Kathmandu, Nepal. Telephone: +977 1 4330200, Website: www.nbc.org.np 
All Rights Reserved © Naya Bazar Club 2012.